नेपाली क्रिकेटले ‘चाँडै’ नयाँ प्रशिक्षक पाउँदै : कस्तो प्रशिक्षक आवश्यक ?

Image

काठमाडौं ।

क्यानडाका पुबुदु दासानायकेले अचानक पदबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षकविहीन अवस्थामा छ । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता क्रिकेट विश्वकप लिग–२ खेलिरहेको नेपाली टोली दुई सातादेखी प्रशिक्षकविहीन बनेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले भने चाँडै नेपाली टिमले नयाँ प्रशिक्षक पाउने बताएका छन् । “हामीलाई काम गर्नसक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिनसक्ने प्रशिक्षक खाँचो छ,” मल्लले भने, “हामी आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सक्छौँ । सूचना ननिकालेर पनि प्रशिक्षका ल्याउन सकिन्छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदैछ । शुभसमाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ ।”

दोस्रोपटक कार्यभार सम्हाल्न आएका प्रशिक्षक दासानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेटमा कस्तो प्रशिक्षक आउने हो भनेर चासोको रूपमा हेरिएको छ । पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रशिक्षक पाए पनि उनीहरूलाई लामो समय टिकाएर राख्न सकेको छैन । यसअघिका डेब वाटमोर र उमेश पटवालले पनि सम्झैताअनुसारको कार्यकाल पूरा नगरी नेपाली टिम छाडेका थिए । त्यसकारण पनि अब को आउने र कति समय टिक्ने भन्ने गम्भीर प्रश्न खडा छ ।

“हामीले खोज्ने भनेको बेस्ट कोच हो । जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस् । टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन् । त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजिमा छौँ,” क्यानका कार्यबहाक सचिव मल्लले नयाँ प्रशिक्षक नियुक्तिबारे भने, “अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन् । तर, हामीलाई काम गर्न सक्ने र कठिन अवस्थामा रहेको टिमलाई हाँक्न सक्ने प्रशिक्षक चाहिएको हो ।”

निवर्तमान प्रशिक्षक दासानायकेले नेपाल छाडेपछि ‘राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको’ स्वीकार गरेका छन् । तथापि उनले वर्तमान अवस्थामा कम भएको बताएका छन् । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइको पुर्‍याएका दासानायकेको दोस्रो कार्यकालबाट पनि सोही खालको अपेक्षा गरिएको थियो । तर, दासानायकेको दोस्रो कार्यकाल भने सुखद हुन सकेन ।

नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र खेलाडीको मनोभावना बुझ्न सक्ने प्रशिक्षक आवश्यक रहेको पूर्व कप्तान पवन अग्रवालले बताए । उनले भारत, श्रीलंका, पाकिस्तानका लेभल थ्री कोर्स गरेका प्रशिक्षक भए नेपाली टोलीलाई सहज हुने बताए । भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीलाई प्रशिक्षणमा कठिन भएको अग्रवालको बुझाइ छ ।

“पु्बुदुको दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा आउन सकेन । अहिले हामीलाई चाहिने भनेको नेपाली संस्कृति र खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक हो । खेलाडी र प्रशिक्षकबीच भाषा मिल्न आवश्यक छ,” अग्रवालले थपे, “नेपाली संस्कृति बुझ्नुसक्ने भयो भनते खेलाडीसँगको संवाद केही हदसम्म सहज हुन्छ ।”