काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली हाल मुख्य प्रशिक्षकविहीन रहेको छ। मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक पाउन सकेका छैनन्। नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ मुख्य प्रशिक्षक ल्याउने तयारी गरिरहेको छ।
क्यानले नेपाली टोलीले चाँडै मुख्य प्रशिक्षक पाउने बताउँदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले त्यहीँ अनुसार प्रक्रिया अगाडि बढाएको छ।
अपुर्व देशाई, मोन्टि देशाई र लालचन्द राजपुत क्यानको पहिलो प्राथमिकतामा रहेका छन्। अपुर्व र मोन्टिले यस अघि ब्याटिङ कन्सल्टेन्टका रूपमा नेपाली टिमसँग काम गरिसकेका छन्। नेपालको मुख्य प्रशिक्षक नियुक्त हुने नयाँ प्रशिक्षकलाई सहज हुने छैन। उनको कार्यकाल चुनौती नै चुनौतीले भरिएको हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षकले मुख्यत पाँच चुनौतीलाई पार गर्नु पर्नेहुन्छ ।
१. गुटबन्दी अन्त्य : खेलाडीहरु कोहीको नजिक कोहीको टाढा हुनु सामान्य रहन्छ। नेपाली क्रिकेट टोलीको कमजोर नतिजा आइरहनुको मुख्य कारण धेरैले खेलाडीको गुटबन्दीलाई प्रमुख मान्दै आएका छन्। पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि राजीनामा दिएर जाँदै गर्दा स्वीकारे। गुटबन्दीको सिकार बनेको नेपाली टिमलाई एकताबद्ध गरी बलियो नतिजातर्फ उन्मुख गराउनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ।
२. कमजोर ब्याटिङको सुधार : अहिले मात्र नभई लामो समयबाट कमजोर रहेको नेपालको ब्याटिङ सुधार्न धेरै प्रयासहरु भए। तर, ती सबै असफल रह्यो। नेपालले कमजोर ब्याटिङकै कारण धेरै खेलमा हार व्यहोरेको छ। अब आउने प्रशिक्षकले नेपालको ब्याटिङलाई सुधार गर्न आवश्यकता छ।
३. एकदिवसीय मान्यतालाई जोगाउनु : २०१८ देखि २०२३ सम्म नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रिय मान्यतालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ। यसका लागि जारी रहेको विश्वकप लिग टूको शीर्ष पाँचमा रहनु जरुरत रहेको छ। शीर्ष पाँचमा रहन नेपालले लिग टूका बाँकी रहेका १६ खेलमा कम्तिमा पनि ८,९ खेल जित्न आवश्यक रहेको छ।
४. राम्रो नतिजा : अन्य खेलको जस्तै क्रिकेटबाट पनि राम्रो भन्दा राम्रो नतिजाको अपेक्षा सबैले राख्दछन्। तर, पछिल्लो समय नेपाली टोलीले राम्रो नतिजा दिन सकिरहेको छैन। नेपाली टोलीले पछिल्लो समय जितभन्दा हार बढी व्यहोरेको छ। नेपालले पछिल्लो समय खेलेको सिरिजको नतिजाले त्यसै भन्छ। नयाँ प्रशिक्षकलाई हारको शृखलालाई तोड्नु चुनौती हुनेछ।
५. विश्वकपको सपना जीवित राख्नु : नेपालले विश्वकपको ढोका मानिएको विश्वकप लिग टू खेलिरहेको छ। नेपालले अझै १६ खेल खेल्न बाँकी रहेको छ। लिग टूको शीर्ष ३ मा रहँदै विश्वकपको बाटो खुल्ला राख्नु अबको चुनौती छ। यस्तै २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान पक्का गर्न पनि नयाँ प्रशिक्षकका लागि चुनौती रहेको छ। –खेलपाटीबाट साभार।