नेपालले केन्यासँग खेल्ने सिरिजको तालिका सार्वजनिक

Image

काठमाडौं ।

नेपाली क्रिकेट टिम सिरिज खेल्न केन्या जाँदैछ। नेपालले केन्यासँग टी–२० र एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र केन्यबीच पाँच म्याचको टी–२० र तीन खेलको एकदिवसीय सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपाल र केन्याबीचको यो सिरिज अगष्टको अन्तिम सातातिर हुँदैछ। दुई देशबीचको सिरिजको खेल तालिका पनि सार्वजनिक भएको छ।नेपालले अगस्ट २५, २६, २७, २९ र ३० मा गरी केन्यासँग नैरोबीमा पाँच टी–२० अन्तर्राष्ट्रिय म्याच खेल्ने तालिका छ।

त्यसको दुई दिनपछि नेपाल र केन्याबीच तीन एकदिवसीय खेलको शृंखला सुरु हुनेछ। त्यसका लागि क्यानले बन्द प्रशिक्षणका लागि मंगलबार टिम घोषणा गर्ने सम्भावना छ। १० दिनको प्रशिक्षणपछि नेपाली टोली केन्या जानेछ। नेपालले भारतका पूर्वअलराउन्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

क्यानले सोमबार ५९ वर्षे प्रभाकरलाई नेपालको प्रमुख प्रशिक्षक बनाउने निर्णय गरेको हो। दुईवर्षे सम्झौता गरेर आएका क्यानडाका पुबुदु दासानायके ६ महिनापछि नै फर्किएपछि क्यानले उनको स्थानमा प्रभाकरलाई ल्याएको हो। दुई साताअघि दासानायके नेपाल छाड्दै क्यानडाको राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएपछि नेपाली राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन बनेको थियो।

क्यानका अनुसार प्रभाकर बिहीबार नेपाल आउने सम्भावना छ। आउँदो केन्या भ्रमण प्रभाकरको नेपालको प्रशिक्षकका रूपमा पहिलो चुनौती हुनेछ। प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन्। यस्तै, रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन्।

प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।