काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै मंगलबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्यो। केन्यासँगको ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको हो।
पूर्वकप्तान मल्लले पुनरागमन गर्दा युवा विकेटकिपर अर्जुन साउँदले टोलीमा पहिलोपटक मौका पाएका छन् । तर, टोलीमा नियमित रहँदै आएका र टी–२० क्रिकेटमा विष्फोटक ओपनरको छवी बनाएका युवा ओपनर कुशल भुर्तेलले स्थान गुमाएका छन्।
टी–२० क्रिकेट मात्र खेलिरहेका रहेका अविनाश बोहोरालेसमेत टोलीमा स्थान बनाउन सकेनन्। पछिल्लो समय टोलीमा रहँदै आएका विकेटकिपर विनोद भण्डारीसमेत टिमबाट बाहिरिए। नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ।
नेपालको केन्या भ्रमणमा मुख्य टी–२० मा केन्द्रित छ। तर, कुशल र अविनाश टोलीमा नपर्दा धेरैले आश्चर्य मानेका छन्। क्यानको खेलाडी छनोट समितिका प्रमुख दीपेन्द्र चौधरीले कम खेलाडी टिममा राख्न पर्ने बाध्यता र नयाँलाईसमेत मौका दिनुपर्ने हुँदा उनीहरूलाई आराम दिइएको बताए।
‘केन्याले कम खेलाडीको पठाउन भनेकोले उहाँहरुलाई टिममा राख्न नसकिएको हो,’ चौधरीले भने, ‘केन्याले १४ खेलाडी मात्र ल्याउनुभनेको थियो तर हामीले पटकपटकको आग्रहमा २ खेलाडी थप्न मन्जुर भयो नयाँलाई अवसर दिँदा उहाँहरूलाई टिममा स्थान दिन सकिएन।’
कुशलले २०२१ मा नेपालमा भएको नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलबाट टी–ट्वान्टी आईमा डेब्यु गरेका थिए। त्यस सिरिजको सुरुआती ३ खेलमा उनले लगातार अर्धशतक बनाउँदै आफुलाई प्रमाणित गरेका थिए। त्यसयता उनी टोलीमा नियमित छन्।
उनले टी–ट्वान्टीमा १ शतक र ५ अर्धशतक सहित ४७.७५ को औसतमा ५ सय ७३ रन बनाएका छन्। तर, पछिल्लो समय उनको ब्याटबाट उलेख्य रन निस्कन सकेको छैन। अविनाश नेपालका एक मात्र टी–२० स्पेसलिस्ट बलर मानिन्छ। नेपाली मालिङ्गा उपनामले समेत परिचित अविनाश नेपालका लागि डेथओभर बलिङमा सफल बलरको शीर्ष स्थानमा छन्।
उनले टी–२० मा ३५ इनिङमा ६.७९ को इकोनोमीमा ४० विकेट लिएका छन्। क्यानका एक केन्द्रीय सदस्यको अनुसार नयाँ खेलाडीलाई मौका दिँदा उनीहरू यस सिरिजका लागि टोलीमा नपरेका हुन्।
‘हाम्रो केन्या यात्राको सबै खर्च क्रिकेट केन्याले व्यहोर्ने भनेकाले थोरै खेलाडीको माग गरेकोमा हामीले १६ जनामा केही नयाँ खेलाडीलाई मौका दिदा कुशल र अविनाश छुट्न पुगे,’ क्यानका एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरुलाई यस टुरबाट आराम दिइएको हो सधैंलाई होइन।’
केन्या भ्रमणमा जाने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बासिर अहमद, अर्जुन साउँद (विकेटकिपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव। –खेलपाटीबाट साभार