काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले अमेरिकालाई हराएको छ। उसले पाहुना टोलीलाई ५ विकेटले पराजित गरेको हो। गएराति सम्पन्न खेलमा अमेरिकाले दिएको २ सय ९६ रनको लक्ष्य स्कटल्याण्डले ४७.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। जारी सिरिजमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो। अमेरिका पहिलो हार हो। आफ्नो खेलमा अमेरिकाले यूएईलाई एक विकेटले हराएको थियो। त्यस्तै, स्कटल्याण्डले पहिलो खेलमा यूएईलाई ६४ रनले हराएको थियो।
स्कटल्याण्डको जितमा कलुम म्याक्लोयडले शतकीय पारी खेले। उनले ९९ बलमा ९ चौका र पाँच छक्कासहित ११७ रनको योगदान दिए। म्याक्लोयडको यो नवौँ एकदिवसीय शतक हो। त्यस्तै, क्रेग वालेसले ४५, कप्तान म्याथ्यू क्रसले ४०, कायल कोएट्जरले २८, माइकल जोन्सले १८, क्रिस ग्रेभ्स र माइकल लीस्कले अविजित १९/१९ रन बनाए।
अमेरिकाका लागि नोशुतोष केन्जिङ्गेले २, सौरभ नेत्रावल्कर, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए। त्यसअघि एबार्डेनस्थित मनोफिल्ड पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९५ रन बनाएको थियो।
उसका लागि आरोन जोन्सले शतकीय पारी खेले । उनले ८७ बलमा ९ चौका र ९ छक्कासहित अविजित १२३ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा जोन्सको यो पहिलो शतक हो ।
त्यस्तै, सुशान्त मोदानीले ५२, स्टिभन टेलरले ३७, कप्तान मोनांक पटेलले १९, इयान हल्याण्डले २०, गजानन्द सिंहले १३ र निसर्ग पटेलले १२ रन जोडे। स्कटल्याण्डका लागि मार्क वाट र केभिन मेनले सर्वाधिक २/२ विकेट हात पारे।
यस जितसँगै स्कटल्याण्डले विश्वकप लिग–२ मा महत्त्वपूर्ण २ अंक जोडेको छ। स्कटल्याण्डले २६ म्याच खेलेको छ। जसमा उसले १८ मा जित र ६ खेलमा हार बेहोरेको छ। ऊ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अमेरिकाले हालसम्म २६ म्याच खेलेको छ। जसमध्ये १२ मा जित र १३ खेलमा हार बेहोरेको छ।
ऊ अंक तालिकाको चौथो स्थानमा छ। २४ म्याच खेलेको यूएईले १२ मा जित र १० खेलमा हार भोगेको छ ऊ अंक तालिकाको तेस्रो स्थानमा छ। नेपाल तालिकाको छैटौं स्थानमा छ। २० म्याच खेलेको नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। स्कटल्याण्डले अमेरिकालाई हराउनु फाइदाजनक हो। किनकि यी टोली नेपालभन्दा अंक तालिकामा अगाडि छन्।नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ। लिग-२ शीर्ष स्थानमा ओमान छ। उसले सबै म्याच खेलिसकेको छ। उसले ३६ म्याचमध्ये २१ म जित र १३ खेलमा हार बेहोरेको छ।
नामिबिया पाँचौँ स्थानमा रहदा पपुवा न्यूगिनी पुछारमा रहेको छ। अंक तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै अर्को वर्षको एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। विश्वकप लिग–२ मा सातै टिमले ३६/३६ म्याच खेल्नेछन्।
विश्वकप लिग–२ को अंक तालिका :