काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा यूएई ८६ रनले पराजित भएको हो।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा स्कटल्याण्डको यो लगातार तेस्रो जित हो ।
घरेलु टोलीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको यूएई ४१ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनायो । उसका लागि भृत्य अरबिन्दले ५० रनको अर्धशतकीय ईनिङ खेले ।
मोहम्मद वासिम तथा कासिफ दाउदले २३/२३ रन बनाए ।घरेलु टोलीका मार्क वाटले ५ तथा क्रिस सोलले २ विकेट लिए। हम्जा ताहिर,सफियान सरिफ र मिचेल लिग्सले समान १/१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका लागि उसका लागि कलुम म्याकलोयड र म्याथ्यु क्रसले अर्धशतकीय पारी खेले ।
कप्तान क्रसले ८५ तथा म्याकलोयडले ७७ रन बनाए । मार्क वाटले २९ तथा मिचेल जोन्सले १४ रन बनाए । यूएईका कप्तान अहमद राजा तथा वासिल हमिदले २/२ तथा रोहन मुस्ताफा,कासिफ दाउद,जाहोर खान र जुनेद सिद्धिकिले समान १/१ विकेट लिए।
सिरिजअन्तर्गतको चौथो खेल अमेरिका र यूएईबीच सोमबार हुनेछ। यस जितसँग स्कटल्याण्डले महत्त्वपूर्ण २ अंक जोडेको छ।
स्कटल्याण्डले २७ म्याच खेलेको छ। जसमा उसले १९ मा जित र ६ खेलमा हार बेहोरेको छ। स्कटल्याण्ड ४० पोइन्टसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
२५ म्याच खेलेको यूएईले १२ मा जित र ११ खेलमा हार भोगेको छ। २६ अंकका यूएई तालिकाको तेस्रो स्थानमा छ।
अमेरिकाले हालसम्म २६ म्याच खेलेको छ। जसमध्ये १२ मा जित र १३ खेलमा हार बेहोरेको छ। ऊ अंक तालिकाको चौथो स्थानमा छ। अमेरिकाको २५ अंक छ।
नेपाल तालिकाको छैटौं स्थानमा छ। २० म्याच खेलेको नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। स्कटल्याण्डले यूएई लाई हराउनु फाइदाजनक हो। किनकि यी टोली नेपालभन्दा अंक तालिकामा अगाडि छन्।
नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ। लिग-२ शीर्ष स्थानमा ओमान छ। उसले सबै म्याच खेलिसकेको छ। उसले ३६ म्याचमध्ये २१ म जित र १३ खेलमा हार बेहोरेको छ। नामिबिया पाँचौँ स्थानमा रहदा पपुवा न्यूगिनी पुछारमा रहेको छ।
अंक तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै अर्को वर्षको एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। विश्वकप लिग–२ मा सातै टिमले ३६/३६ म्याच खेल्नेछन्।