Khabar Board

भारतीय फुटबलमाथि फिफाले प्रतिबन्ध लगाएपछि यस्तो भन्छन् अल्मुताइरी

काठमाडौं ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि सर्ने भएको छ ‌‌।

फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट ‘विचलित’ भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो । तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो । गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि फिफा र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो । उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

तर, भारतीय अदालतले तुरुन्तै चुनाव गराउन आदेश दिएको थियो । साथै निर्वाचित समिति तीन महिनाको अवधिको लागि अन्तरिम निकाय हुने पनि बताएको थियो । अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ।

फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई निलम्बन गरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमार्फत् भारत फुटबलको लागि दुःखद् खबर भएको बताएका छन्।

फिफाले चाँडै नै भारतीय टिममाथिको निलम्बन हटाइने आशा व्यक्त गरेका छन्। यसका साथै उनले दक्षिण एसियामा फुटबलको विकासका लागि भारतीय फुटबललाई प्रतिस्पर्धामा फर्काउन आवश्यक रहेको अल्मुताइरीले औंल्याएका छन्।

‘भारत फुटबलको लागि यो दुःखद खबर हो। उनीहरूका लागि सबैभन्दा राम्रो आशा गरौं, फिफाले चाँडै नै फिफा यू–१७ महिला विश्वकप, साफ महिला र एएफसी कप यू–२० र यू–१७ छनोट प्रतियोगिताअघि फिफाले निलम्बन फुकुवा गर्नेछ। दक्षिण एसियामा फुटबलको विकासका लागि हामीलाई भारतीय फुटबललाई प्रतिस्पर्धामा फर्काउन आवश्यक छ।’ उनले भनेका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.