काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याको भ्रमणमा जाँदैछ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तराष्ट्रिय र ३ म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका छ। केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ। ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० गतेसम्म चल्नेछ।
दुवै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टी–२० सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ । नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ।
यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्। एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ। तीनै एकदिवसीय म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछन्।
टी–२० र एकदिसीय सिरिजका लागि नेपालले टिमसमेत घोषणा गरिसकेको छ। केहीअघि अगाडि कप्तान सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम गरेको भएको थियो। नेपालले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरिसकेको छ। अहिले नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ।
यसैक्रममा नेपाली क्रिकेट टिमलाई एक नयाँ प्रस्ताव आएको छ। त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान केन्द्रिय विभागले नेपाली राष्ट्रिय क्रिकेटरहरूलाई मनोवैज्ञानिक शिक्षा तालिम प्रदान गर्नका लागि प्रस्ताव पेश गरेको छ। त्रिविले नेपाल क्रिकेट संघ (क्यान) सामु सो प्रस्ताव पेश गरेको हो।
क्रिकेट खेलाडीहरूको मानसिक तथा मनोवैज्ञानिक दृष्टिकोण बलियो बनाउने उदेश्यसहित एकदिने कार्यशालाको प्रस्ताव पेश गरेको हो। विभागले एक दिने कार्यशालाको दौरान महिला तथा पुरुष राष्ट्रिय क्रिकेटरहरूलाई लेभल १, २ र ३ को तालिम प्रदान गर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
विभागका अनुसार आईसीसी पुुरुष विश्वकप क्रिकेट लिग–२ जस्तो ठूलो प्रतियोगिताका लागि पुरुष क्रिकेटरहरूलाई प्रस्तावित कार्यशालाले निकै सघाउनेछ। यसका साथै तालिमले अहिलेको व्यस्त जीवनमा खेलाडीहरूको व्यवसायिक र पारिवारिक असन्तुलनता, धैर्यता र खेलाडीबीच रहने आपसी मनमुटाव र असमझदारीलाई समाधानतर्फ उन्मुख गराउन सहयोग मिल्ने प्रस्तावमा उल्लेख छ।
विभागले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको आसन्न केन्या भ्रमणअघि नै तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। विभागले तालिमवापत क्यानसमक्ष ३ लाख ७० हजार शुल्कको प्रस्ताव राखेको छ। एनआइएस क्रिकेट प्रशिक्षक अनिल अधिकारीलाई स्रोत व्यक्तिको रूपमा राखेर तालिमको खाका तयार पारेको विभागले जनाएको छ।