भविष्य खोज्दै नेपाल छाडेर अष्ट्रेलिया पलायन भएका दर्शन यस्तो भन्छन्

Image

काठमाडाैं ।

फरवार्ड दर्शन गुरुङका लागि फुटबल नसा थियो । फुटबल नै सबै थोक हो भन्ने लाग्थ्यो उनलाई । तर, किन फुटबलमै भविष्य देखेका दर्शन राष्ट्रिय टिमलाई चटक्कै छाडेर अस्ट्रेलिया उडे ? यी अनुत्तरित प्रश्न हुन्, यसको जवाफ न सरकारसँग छ, न एन्फासँग ।

‘को कहाँ गयो ? के गर्दै छ ? मर्‍याे कि बाँच्यो ? एन्फा र सरकारलाई मतलब हुँदैन । खेलाडी बाँच्ने आधार नै छैन । त्यसैले फुटबल छोडेर विदेशिएँ’, राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी हेमन गुरुङले ठ्याक्कै दुई वर्षअघि भनेका थिए । त्यसबेला उनको त्यो भनाइमा पीडासँगै चिन्ता मिसिएको थियो ।

नेपाली खेलाडी खेल्दाखेल्दै आफूजस्तै छोडेर विदेशिनु नपरोस् । एन्फाले फुटबल गतिविधिलाई चलायमान बनाओस्, खेलाडी खेलेरै बाँच्ने आधार बनोस् भन्ने उनको तात्पर्य थियो । तर राम्रा मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एलन न्यौपानेजस्ता खेलाडी गुमाएको देशले त्यसपछि कुनै संयन्त्र बनाएन, जसले खेलाडी खुसीका साथ निर्धक्क भएर स्वदेशमै खेलुन् ।

फलस्वरुप विदेशिने खेलाडीको सिलसिला रोकिएन । दर्शनसँगै राष्ट्रिय टिमबाट खेलिरहेका सन्तोष तामाङ, आशिष लामा, सुमन लामा, हेमन्त थापामगर, विमल राना, नवीन गुरुङ केही समयअघि मात्रै अस्ट्रेलिया पुगे । युवा स्टार दर्शन विदेशिएका एक प्रतिनिधि खेलाडी हुन् । छोटो समयमा नै नेपाली फुटबलमा राम्रो छाप छाड्न सफल दर्शनले सायद सोचेका थिएनन्, एक दिन राष्ट्रिय टिम छोडेर विदेशिन्छु भनेर ।

दर्शनका लागि फुटबल नसा थियो, अनि राष्ट्रिय टिमबाट खेल्ने सपना । सबैले सपना त देखेकै हुन्छन् । कतिको पूरा हुँदैन, कतिको हुन्छ । आफूले बनाएको लक्ष्य पूरा भयो भएन, त्यो उसले गरेको परिश्रम र लगनशीलताले महत्त्व राख्छ । दर्शन गुरुङ यस्ता खेलाडी हुन्, जसले आफ्नो लक्ष्य पूरा गरे तर जिन्दगी अन्धकार देखे । त्यसपछि राष्ट्रिय टिमबाट खेलेको छोटो समयमा नै बिट मारे । यो निर्णय उनलाई गर्न त्यति सजिलो भने पक्कै भएन ।

फुटबलमा भविष्य छ, राम्रो गर्छु भनेर आएका उनी भविष्य नभएको बताउँछन् । भन्छन्, ‘भविष्य नदेखेर म अस्ट्रेलिया आएँ । लिग नियमित छैन । खेलहरू हुँदैन । क्लबले पैसा दिँदैन । ६ महिनाका लागि अनुबन्धित गरेको हुन्छ तर ३–४ महिनाको मात्रै तलब दिन्छ ।’ दर्शनलाई फुटबल खेलेर केही हुँदैन भन्ने लागेको भए उनी यसरी दिनरात गरेर खेलाडी बन्ने चाहना पहिल्यै तुहाउँथे । उनको मात्रै हैन, नेपाली खेलकुदमा लागेका सयौँ खेलाडीको सपना टुटेको छ । नयाँ पिँढी खेलकुदमा लाग्नै मान्दैन । धेरै अभिभावक त नेपाली खेलाडीको अवस्था देखेर छोराछोरीले खेल्न खोज्दाखोज्दै पनि यो क्षेत्रमा ल्याउन नचाहने भएका छन् । यस पछिको कारण के त ?

दर्शन मात्रै हैन, नाम चलेका त्यस्ता धेरै खेलाडी छन्, जो खेल्दाखेल्दै देश छोडेर गएका छन् । ओलम्पिक्स खेलेकादेखि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका खेलाडीसम्म खेल्दाखेल्दै विदेसिएको तितो सत्य छ । यी सबै खेलाडी नेपाली खेलकुदमा भविष्य नदेखेरै बाहिरिएका हुन् ।

‘जब मैले फुटबल बुझेँ फुटबलमै केही गर्छु भन्ने थियो । तर त्यो अहिले रहेन । परिवार छ । परिवारको जिम्मेवारी पनि पूरा गर्नुपर्‍याे । नेपालमा फुटबल खेलेर परिवारका लागि केही गर्न सक्दिनँ भने त्यहाँ अल्झेर म किन बस्ने ?,’ गम्भीर हुँदै दर्शन भन्छन् ।

एन्फालाई खेलाडीको के मतलब ?

‘खेलाडी देशको गहना ।’ यो एउटा भनाइमा मात्र सीमित छ । देश र दर्शकको खुसीमा रमाउँदारमाउँदै आफैँ दुःखी भएको खेलाडीलाई पत्तै हुन्न । देशका लागि खेल्दा गौरवले शिर उच्च भएको अनुभूति त हुन्छ क्षणिक समयका लागि । बाँकी समय त आफ्नो अन्धकारमय भविष्य देखेर विरक्तिन्छन् । अनि विदेशिन्छन् दर्शनहरू, सन्तोषहरू, सुमनहरू ।

दर्शन र उनीजस्ता खेलाडी विदेशिनु रहर होइन, बाध्यता हो । नियति हो । एन्फाको कारण धेरै खेलाडीले आफ्ना सपनाहरू टुटाएका छन् । कतिको भविष्य डुबेको छ । कति फुटबलर त फुटबल नै माया मारेर पलायन भएका छन् । कतिले पेसा नै परिवर्तन गरेका छन् ।

दर्शन भन्छन्, ‘म विदेशिएर एकदम ठीक गरेँ । अझै धेरै फुटबल खेलेर ५–६ वर्षपछि छोड्नुपरेको भए मलाई गाह्रो हुने थियो होला । तर, छिट्टै छोडेकोमा खुसी नै छु । खेलाडी दाइहरूले पनि ठीक गर्‍यौ भन्नुहुन्छ ।’ एकपछि अर्का खेलाडी विदेशिने क्रम बढे पनि खेलाडीको अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मतलब नै छैन । आफ्ना खेलाडी को के गर्दै छन्, फुटबल क्लब र एन्फालाई थाहा हुँदैन । खेलाडी रोक्न एन्फाले एउटा पनि प्रयास गरेको छैन ।

विमानस्थलमा विदेशिने खेलाडीको फोटो हेर्दै ‘ए यो पनि गएछ ?’ भन्नबाहेक एन्फाका पदाधिकारीले केही गर्न सकेका छैनन् । एन्फामा बढ्दो राजनीतिकरणले फुटबल ध्वस्त बनेको छ । एन्फामा आएका पदाधिकारी फुटबलको विकासभन्दा पनि भागवण्डामा लागेका छन् । पंकजविक्रम नेम्वाङसहितको टिम निर्वाचित भएर एन्फाले नयाँ नेतृत्व पाएको धेरै समय भएको छैन । तर विवाद भने चुलिसकेको छ । एन्फा गन्जागोल हुनुको मुख्य कारण पनि व्यक्तिगत स्वार्थ नै हो । एन्फा पदाधिकारी भागवण्डामा लाग्दा फुटबलले गति लिन नसकेको पक्कै हो ।

टिम मात्रै हैन, देशलाई नै छोडेर जाँदा नेपाली फुटबलको धेरै याद आउँछ होला नि भन्ने प्रश्नमा दर्शन भन्छन्, ‘फुटबलमै भविष्य देखेको थिएँ । तर, अहिले फुटबलमै भविष्य रहेनछ भन्न मलाई गाह्रो भइरहेको छ । राष्ट्रिय टिमबाट खेलिरहने कसको लक्ष्य हुँदैन तर परिस्थिति नै यस्तो छ नेपाली फुटबलको । सम्झना त आइरहन्छ सधैँ तर सम्झेर के गर्नु ?’

फुटबल यात्रा

इलामको सन्दकपुर गाउँपालिकामा जन्मिएका दर्शन सानैदेखि फुटबल खुब खेल्थे । स्कुल पढ्दा भागीभागी फुटबल खेलेको उनलाई आजैजस्तो लाग्छ । त्यही फुटबल प्यासनले उनलाई एन्फा एकेडेमीसम्म पुर्‍यायो । एन्फा एकेडेमीमा हुँदा उनले सबै उमेर समूहबाट खेले । यो बेला उनलाई राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द र विशाल राई खुब मन पर्थ्यो । पछि उनै दुवै खेलाडीसँग राष्ट्रिय टिमबाट खेल्दाको क्षण उनी कहिल्यै बिर्सन सक्दैनन् । ‘फुटबल बुझेपछि राष्ट्रिय टिमबाट खेल्ने धोको थियो । त्यसमा पनि रोहित दाइ र विशाल दाइ मन पर्थ्यो । पछि उहाँहरूसँगै खेल्दा गौरव महसुस गरेँ’, उनी भन्छन् ।

२०७७ साल कात्तिक २८ गते बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरे । रवि पासवानको स्थानमा मैदानमा प्रवेश गरेका दर्शनले राष्ट्रिय टिमबाट ६ खेल खेल्दा एक गोल गरेका छन् । फरवार्ड दर्शनले एसियन कप छनोटमा कुवेतविरुद्धको खेलमा गोल गरेका थिए । जुन कुवेतविरुद्ध ४० वर्षपछि नेपालले गोल गरेको थियो । यसअघि कुवेतविरुद्ध वाईबी घलेले गोल गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिग एनआरटीबाट खेलेका कप्तान दर्शनले दुई सिजन गरी सात गोल गरेका छन् । २०७६ मा उनले ए डिभिजन लिगमा डेब्यु गरे । आफ्नो डेब्यु लिगमा नै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न उनी सफल भएका थिए । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका थिए । उनी आबद्ध टिम उपविजेता बनेको थियो ।

एनएसएलको दोस्रो सिजनमा भने उनी बुटवल लुम्बिनीमा अधिकतम ३ लाख ५० हजारमा अनुबन्धित भए । तर, यो लिग पनि अनिश्चित बनिदिँदा र अन्य घरेलु प्रतियोगिताहरू नहुँदा खेलाडीले फुटबल नै त्यागेका हुन् । राष्ट्रिय टिमबाट खेल्ने लक्ष्य नभए पनि दर्शनले ५–६ वर्षपछि लिग खेलहरू भने खेल्न सक्ने बताए ।

छोटो समयमा नै राम्रो छाप छाडेका दर्शननलाई भविष्यमा राष्ट्रिय टिमका मुख्य फरवार्डको रूपमा हेरिएको थियो । तर, उनको विदेश पलायनले एउटा कुशल खेलाडी देशले गुमाएको छ । यता एन्फा र सरकार भने एउटा खेलाडी विदेशिँदा अर्को आइहाल्छ नि, पाइहाल्छ नि त्यस्तो खेलाडी भन्दै बसेको छ । तर एक जना खेलाडी विदेशिनुले कालान्तरमा पर्ने असरबारे न एन्फाले सोचेको छ, न सरकारले ।

यसरी खेलाडीले राष्ट्रिय टिम छोडेर पलायन हुने क्रम बढ्दै गए ठूलो समस्या आउनेछ । कुनै पनि बाबुआमाले आफ्ना छोराछोरीलाई जानीजानी अन्धकारमा पक्कै धकेल्दैनन् । राम्रा खेलाडीले छोड्दा नयाँ पिँढीमा नराम्रो असर पर्न जान्छ । उज्वल भविष्य नभई नेपाली फुटबल एउटा दलदल मात्रै भए यहाँ फसिन्छ भन्ने जानीजानी कोही नयाँ खेलाडी आऊलान् र ? फुटबल खेललाई एउटा अन्धकार दलदल बनाउने कि खेलाडीको जिउने आधार, यसमा एन्फा र सरकारले तत्काल एक्सन लिनैपर्छ । यो समाचार शिलापत्रमा सरोज तामाङले लेखेका छन्।