अलमुताईरीसँगको विवादबारे यस्तो भन्छन् राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठ

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको पाटोलाई बिर्सनु पर्ने बताएका छन् ।

राष्ट्रिय टिममा पुनरागमन गरेका सुजलले बुधबार संचारकर्मीसँग कुरा गर्दै अलमुताईरीसँगको विवादलाई बिर्सनु पर्ने र नेपाली फुटबलका लागि नयाँ तरिकाले जानुपर्ने बताए ।

‘राष्ट्रिय टिमको जर्सी लगाएर खेल्नु ठुलो कुरा हुन्छ । हामी टिममा फर्किएकाहरुको सोच अब नयाँ तरिकाले जाउँ भन्नेछ,’ सुजलले भने, ‘अब हामीले त्यो पाटोलाई बिर्सिदिने कोशिस गरेका छौँ । बिर्सिनु पर्छ । अब नेपाली फुटबलका लागि नयाँ तरिकाले जाउँ भन्ने सबैको सोच छ ।’

सुजल गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा नेपाली टिम बाहिर थिए ।

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाखमा सुजलसहित प्रशिक्षणमा रहेका १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

त्यसपछि एसियन कप छनोटका लागि टिम घोषणा गर्दा सुललसहित प्रशिक्षण छाडेका १० खेलाडी अटाएका थिएनन् । यस्तै नियमित कप्तान किरण चेम्जोङ समेत टिममा थिएनन् ।

यस्तै सुजलले टिममा फर्कन पाउँदा निकै खुशी लागेको बताए ।

‘ट्रेनिङमा फर्कन पाउँदा सबैजना उत्साहित छौँ । ट्रेनिङ सुरु भएको एक साता भयो । फेरिपनि ग्राउण्डमा फर्केर सँगै टिममा खेल्न पाउदा निकै नै खुशी लागेको छ,’ उनले थपे ।

आगामी असोजमा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि सुजलले टोलीमा पुनरागमन गरेका हुन् । सुजलसँगै यस अघि बाहिर रहेका खेलाडीहरु समेत टिममा फर्किएका छन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।