काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा शुक्रबार भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता भारत भने समूहको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित हुँदै समूह उपविजेता बन्यो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो अवसर हो ।
समूह चरणको दुवै खेलमा जित हासिल गरेको नेपाललाई राजधानीमा फैलिएको डेंगीले सताएको छ । पहिलो खेलअघि विंगर मन्जली कुमारी योन्जन डेंगीका कारण खेलमा उपस्थित हुन सकिनन् । खेलको दिन विहान ज्वरो आएपछि विश्राम लिएकी उनलाई भोलिपल्ट डेंगी देखिएको थियो । उनी अस्पतालमै भर्ना भएकित थिइन् ।
दोस्रो खेलको अघिल्लो दिन टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीलाई पनि डेंगी संक्रमण देखियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि प्रशिक्षक थापाले श्रीलंकाविरुद्ध खेलमा उनलाई विश्राम दिए । सेमिफाइनलमा भारतविरुद्ध मन्जली र सावित्रा खेल्ने-नखेल्ने टुंगो लागेको छैन ।
खेलको अघिल्लो दिन प्रशिक्षक कुमार थापाले स्वास्थ्य टोलीको सल्लाह लिएर आफू निर्णय लिने बताए । ‘डाक्टरसँग सल्लाह भइरहेको छ । ज्वरो कम भएको छ । औषधि नखाएर ज्वरो कम हुनु राम्रो हो, ‘ उनले भने, ‘मन्जली त अस्पताल बसेर आएको हो । फाइनलसम्म खेल्ने सम्भावना छ । तर सावित्राले एक खेल गुमाएको हो । उ राम्रो खेलाडी हो । राम्रो खेलाडी खेलोस् भन्ने नै चाहना हो ।’
‘समर्थकमाझ राम्रो खेलाडीले आफ्नो प्रदर्शन देखाउन पावोस् । उनले खेल्ने इच्छा पनि देखाएकी छिन् । तर अब डाक्टरको भनाइ कुर्ने हो । सम्भवत त्यति नराम्रो छैन । अब डेंगी लागेपछि कमजोरी त हुन्छ नै । ज्वरो आएन भने र रिकभर गर्यो भने हेर्छौं । अब अहिले नै निर्णय लिने अवस्था छैन । भोली खेलअघि नै थाहा हुन्छ,’ प्रशिक्षक थापाले भने ।