बंगलादेशविरुद्ध नेपाल पराजित, बहराइनमा नेपालले खायो एक दर्जन बढी गोल

Image

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ ।

आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।

बंगलादेशलाई देशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको थियो।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए ।

अजिजुलले पनि दोहोरो फेलो कार्डसहित रातो कार्ड पाएपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाए । समूह चरणमा नेपालको यो चौंथो हार हो ।

यस हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अंक विहीन रहदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।