Khabar Board

खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड!

काठमाडौं ।

फ्रान्सेली लिग वन अन्तर्गत आइतबार फ्रान्सेली डिफेन्डर जान क्लेर टोडिबोले खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड प्राप्त गरेका छन् ।

लिग वन अन्तर्गत एन्जर्स विरुद्ध खेलमा टोडिबोले खेल सुरु भएको केही सेकेन्डमै खराब ट्याकल गरेपछि रेफ्रीले रेड कार्ड देखाएका थिए । एन्जर्सले मध्य भागबाट बल चलाएर एक्कासी अघि बढाउँदा मिडफिल्डले बल रोक्न सकेन ।

त्यसपछि टोडिबोले पनि बल सहित अघि बढेका खेलाडीमाथि गरेको ट्याकल ढिलो भएको थियो । गोल गर्न अघि बढेका खेलाडी लडाएपछि रेफ्रीले रातो कार्ड देखाए । लिग इतिहासमा यो सबैभन्दा चाँडो देखाइएको रेड कार्ड हो ।

टोडिबो गत सिजन स्थायी रुपमा निससँग अनुबन्धित भएका हुन् । उनी यसअघि बार्सिलोनाबाट लोनमा बन्फिका र निस पुगेका थिए । बार्सिलोनाका लागि लिगमा ४ खेल खेलेका उनी सन् २०१८-१९ मा‌ लिग जित्ने बार्सिलोना टोलीका सदस्य थिए ।

खेलमा एन्जर्सले १-० को जित हासिल गर्यो । नाबिल बेन्टालेबले पहिलो हाफको ४१ अ‍ौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । खेलको अन्तिम आधा घण्टा दुवै टोली १० खेलाडीमा सिमित भए । सोफियान बौफालले ६२ अ‍ौं मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.