Khabar Board

विश्वकपमा नेदरल्याण्ड्सको विजयी सुरुवात

काठमाडौं।

नेदरल्याण्ड्सले अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। जीएमएचबीए मैदानमा भएको खेलमा यूएईलाई ३ विकेटले हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको हो। यूएईले दिएको १ सय १२ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि मक्स ओ’दाउडले २३, कोलिन एकरम्यानले १७, कप्तान स्कट एडवर्ड्सले नटआउट १६, टिम प्रिन्गलले १५, बास डीलीडाले १४ र विक्रमजीत सिंहले १० रन बनाए। अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि ६ रन चाहिएको थियो। तर, यूएईले कप्तान एडवर्ड्सको रनआउट मिस गर्दा म्याच हार्न पुग्यो। त्यसअघिको ओभरमा पनि रनआउट मिस भएको थियो।

यूएईका लागि जुनैद सिद्दिकीले ३ तथा बासिल हमीद, आयान अफजल खान, कार्तिक मयप्पन र जहूर खानले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो। उसका लागि ओपनर मोहम्मद वसीमले सर्वाधिक रन बनाए। उनले ४७ बलमा २ छक्का र १ चौकासहित सर्वाधिक ४१ रन बनाएका हुन्।

यस्तै, वृत्य अरविन्दले १८, काशिफ दाउदले १५ र चिराग सुरीले १२ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नेदरल्याण्ड्सका बास डी लीडाले उत्कृष्ट बलिङ गरे। उनले ३ ओभरमा १८ रन खर्चिएर महत्वपूर्ण सर्वाधिक ३ विकेट लिए। यस्तै, फ्रेड क्लासेनले २ तथा टिम प्रिंगल रोइलोफ र भ्यान डेर मर्वेले १–१ विकेट हात पारे। यस जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्सले २ अंक जोडेको छ।

यसैगरी नामिबियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। टेस्ट राष्ट्र श्रीलंकामाथि ५५ रनको शानदार जितका साथ नामिबियाले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो। नामिबियाको यो ऐतिहासिक जित पनि हो। नामिबियाले पहिलोपटक श्रीलंकालाई हराएको हो।

यस जितसँगै नामिबियाले समूह ‘ए’ मा महत्वपूर्ण दुई अंक जोडेको छ। नामिबियाले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै बनाउन सक्यो। श्रीलंकाको लागि कप्तान दाशुन शनकाले २३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए।

यस्तै, भानुका राजपक्षेले २०, महेश थिक्सेनाले अविजित ११ रन बनाउँदा वानिन्दु हसरंगा ४, चामिका करुणारत्ने ५ र दुश्मन्था चामिरा ८ रनमा आउट भए नामिबियाका स्पिनर बेर्नाड स्कोल्ट्जले र बेन शिकोङ्गोले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित दिलाएका हुन्।

स्कोल्ट्जले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए। शिकोङ्गोले ३ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट हात पारे। यस्तै। जान फिंलिक र डेविड विजाले पनि २–२ तथा जेजे स्मितले एक विकेट झारे। त्यसअघि साइमन्ड्स स्टेडियम जिलङमा टस हारेर पहिला ब्याटिङको मौका पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो ।

उसका लागि ज्यान फ्रिलिंकले शानदार पारी खेले। उनले २८ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए। यस्तै, जेजे स्मितले १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे। १४.२ ओभरमा ९३–६ को कमजोर अवस्थामा रहेको नामिबियाले डेथ ओभरमा उत्कृष्ट फिनिशिङ गरेको थियो।

यस्तै, स्टेफन ब्राड २६, कप्तान गेरार्ड इरास्मस र लोफ्टी ईटनले २०–२० रन बनाए। श्रीलंकाका लागि प्रमोद मधुसानले २, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा र महेश थिक्सनाले एक एक विकेट लिए।

जारी विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन्। १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन्। पहिलो चरणमा ४–४ टोलीको दुई समूह रहेकोमा दुवै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन्। पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन्।

समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाब्वे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन्। दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन्। यसमा रहेका १२ टोलीलाई पनि ६–६ टोली गरि दुई समूहमा विभाजन गरिनेछ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.