Khabar Board

मलेसियाविरुद्ध नेपालको सानदार जित, रुबिनाको सानदार प्रदर्शन

काठमाडौं । नेपालले तेस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनायो । मलेसियाको लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा नटआउट भएपनि टोलीको हार टार्न सकिनन् । ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाइन् ।

अन्य कुनैपनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मास एलिसा २ र हामिजाह हासिम डक आउट भए ।
नेपालकी इन्दु बर्माले ३ ओभरमा ७ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासेले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रनको आक्रामक इनिङ खेलेकी थिइन् ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमै ओपनर कविता कुँवरलाई २ रनमै गुमाएको थियो । मध्य गतिकी बलर निक नुरको बलमा कट खेल्ने धुनमा मिस भएपछि कविता बोल्ड हुन पुगेकी थिइन् । दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेका थिए ।

ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन् । ऐश्या एलिसाको बलमा ठूलो सट खेल्ने धुनमा ज्योति क्याच आउट हुन पुगेकी थिइन् । तेस्रो विकेटका लागि सीता र इन्दुले ३२ रनको साझेदारी गरेका थिए ।

सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३० बलमा २० रन बनाइन् । रुविना १९ औं ओभरको पाँचौं बलमा रन आउट भएकी थिइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा नटआउट रहेका थिए ।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । एलिसा फिर्दुजले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । विनफ्रिद आनीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपालले चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.