काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुलाई स्तब्ध बनाउँदै चेन्नई सुपर किंग्स यस संस्करणको ईन्डियन प्रिमियर लिग(आईपिएल) मा विजयी सुरुआत गरेको छ । हिजोबाट सुरु आईपीएलको उद्घाटन खेलमा बेंगलोर चेन्नईसँग ६ विकेटले पराजित भयो ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा भएको खेलमा बेंगलुरुले दिएको १ सय ७४ रनको लक्ष्य घरेलु टोलीले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईका लागि शिभम दुवेले २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे । ओपनर रचिन रविन्द्रले १५ बलमा ३ चौका तथा ३ छक्काको सहयोगमा ३७ रन बनाए । रविन्द्र जडेजाले अविजित २५ रन बनाउँदा अजिङ्का राहाणेले १९ बलमा २ छक्काको सहयोगमा २७ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । बेंगलुरुका लागि अनुज रावतले २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा महत्वपुर्ण ४८ रनको ईनिङ खेले । छैटौं विकेटका लागि मिलेर रावत र दिनेश कार्तिकले ५० बलमा ९५ रनको साझेदारी गरे । कार्तिकले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।
कप्तान फाफ डु प्लेसिसले २३ बलमा ८ चौकाको सहयोगमा ३५ रन बनाए । प्लेसिस र विराट कोहलीले पहिलो विकेटका लागि २७ बलमा ४१ रनको साझेदारी गरेका थिए । कोहलीले २० बलमा २१ रन बनाए । त्यसपछि निरन्तर विकेट गुमाउँदा बेंगलुरु ठुलो योगफलसम्म पुग्न सकेन ।
घरेलु टोलीका लागि मुस्ताफिजुर रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए । पहिलो खेलमा जितका साथ डिफेन्डिङ च्याम्पियन चेन्नई शिर्ष स्थानमा छ ।