काठमाडौं । ओपनिङ ब्याटर लोकेश बमको आक्रामक शतकका बाबजुद आयरल्याण्ड ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टिम नेपाल ‘ए’ २१ रनले पराजित भएको हो । शुक्रबार भएको खेलमा आयरल्याण्ड ‘ए’ ले दिएको २ सय २३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।
नेपालका लागि लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको इनिङ खेले । यस्तै, आरिफ शेखले २५ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४९ रन बनाए । उनी र लोकेशबीच १२१ रनको साझेदारी बन्यो ।
खेलपछि लोकेशले भने ‘म बलको मेरिटमा खेलिरहेको थिएँ। बल एकदमै ब्याटमा आइरहेको थियो। बाउन्ड्री सानो थियो। त्यसैले चौका छक्का लागिरहेको थियो,’ खेलपछि उनले भने, ‘तर, सिनियर टोलीको सेलेक्सन के हो त्यो चाहिँ थाहा छैन। जे होस् आजको इनिङ्सले मोटिभ चाहिँ दिएको छ।’
लोकेश पहिलोपटक टोलीमा पर्दा यस्तै तुफानी इनिङ्स खेलेका थिए। सन् २०२२ मा आयोजना भएको प्रधानमन्त्री एक दिवसीय कपको सेमिफाइनलमा धनगढीका २१ वर्षीय ब्याटर लोकेशले पूर्व क्लब आर्मीविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाए। सोही इनिङ्स देखेका पुबुदुले आफ्नो टोलीका लागि लोकेशलाई उपयुक्त देखे। प्रधानमन्त्री कप सकिएको भोलिपल्टै उनले अन्तिम १६ सदस्सीय राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।
यो पनि : आयरल्याण्ड उल्भ्सविरुद्ध उत्कृष्ट कमब्याक गरेका कमलसिंह ऐरी खेलपछी यस्तो भन्छन्