काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी जेठमा हुने टी-२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ भने काँधमा नेपालको झण्डा छ । तर जर्सी सार्वजनिक भएपछि झण्डा झुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
क्यानका सचिव पारस खड्काले पहिला र अहिलेको झण्डामा केही फरक नभएको बताउँछन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस भन्छन्, ‘ दुबै एउटै हो, पहिलाको जर्सीमा पनि यहिँ नै छ ।’
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ ।
पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ । आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी मा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् ।शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ। जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल