काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । पिच भिजेको कारण ढिलो सुरु हुन लागेको खेल ८ ओभरको हुनेछ ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै साउदी अरेबियाले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुदै छ ।
गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो । नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।
नेपालको प्लेइङ ११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा, प्रतिश जिसी
बेन्च: अनिल शाह, विवेक यादव, सोमपाल कामी
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।
त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।