Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणामा किन परेनन् कमल?

Nirbachan m

काठमाडौं । वेष्टइण्डिज एविरुद्ध घरेलु मैदानमा हुने पाँच टी–२० खेलको सिरिज खेल्ने नेपाल टोलीको घोषणा भएको छ । एससीसी प्रिमियर कप खेलेको टोलीले निरन्तरता पाउँदा थप दुई खेलाडी मात्र टिममा थपिएका छन् ।

Center article

तर तीव्र गतिका बलर कमलसिंह ऐरीले स्थान बनाउन सकेनन् । अघिल्लो महिना आयरल्याण्ड एसँगको खेलबाट क्रिकेटमा पुनरागमन गरेका कमलले राम्रो प्रभाव छाडेका थिए ।

तर तीव्र गतिका बलर आकाश चन्दसँगै ब्याटर आरिफ शेख टोलीमा पर्दा कमल भने परेनन् । नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र प्रतिश जिसी टोलीमा छन् । पार्टटाइम बलरका रुपमा गुल्सन झा र विवेक यादव छन् । अब त्यसमा आकाश थपिएका छन् ।

सोमपाल र करण नेपालका प्रमुख बलर हुन् । नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दा टोलीमा रहेका सोमपाल सबभन्दा अनुभवी खेलाडी हुन् । यद्यपि पछिल्लो समय उनी नयाँ बलमा सफल भएपनि पुरानो बलमा संघर्ष गर्नुपरेको देखिन्छ । त्यही कारण उनले प्रायः डेथ ओभरमा बलिङ गर्दैनन् ।

करणलाई सन्दीप लामिछानेको अनुपस्थितिमा टिमको जिम्मेवारी बहन गर्नसक्ने म्याच विनर बलर मानिन्छ । उनी टी–२० का उत्कृष्ट क्लिन हिटर पनि हुन् । तर प्लेइङ ११ मा परिर्वतन हुँदा करण अस्वभाविक रुपमा बेञ्चमा रहने गरेका छन्, जसको असर उनको प्रदर्शनमा समेत परेको देखिन्छ ।

युवा बलर गुल्सन झाले ब्याटिङमा पनि नियमित अवसर पाउने गरेका छन् । प्रशिक्षक मोन्टी देशाईले उनलाई खेलको अवस्था हेरेर (लेफ्टी बलर बढी भएको अवस्थामा) तेस्रो वा चौथो नम्बरमा ब्याटिङ गर्न पठाउने गरेका छन् ।

पछिल्लो डेढ वर्षदेखि टिममा रहेका प्रतिश जिसीले अधिकांश समय बेञ्चमा बिताएका छन् । टी–२० विश्वकप एसिया क्षेत्रको फाइनलमा ओमानविरुद्ध अन्तिम ओभरमा लगातार तीन छक्का हानेर चर्चामा आएका विवेक यादव पनि टिममा पर्ने गरेका छन् । तर पाएको अवसरमा उनले आफ्नो फिनिसरको भूमिकामा खरोसँग उत्रिन सकेका छैनन् ।

नेपालका प्रमुख छनोटकर्ता दीपेन्द्रसिंह चौधरी आकाश र प्रतिश जिसीलाई करण केसीको विकल्पको रुपमा हेरिएको बताउँछन् ।
जनवरी अन्तिममा यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएका आकाशले फेब्रुअरी दोस्रो हप्ता क्यानडासँग पहिलो ओडीआई खेलमा डेब्यू गरेका थिए ।

उनले मार्चमा हङकङ र पपुवा न्युगिनीसँग टी–२० आईमा ३–३ विकेट लिए । एसीसी प्रिमियर कपमा अन्तिम १४ मा नपरेपनि उनलाई ओमान लगिएको थियो । त्यसैले टिममा सदस्य बढ्दा आकाश पर्नु स्वभाविक रह्यो । तर सोमपालको विकल्पमा आफूलाई प्रमाणित गरिसकेका कमललाई भने टिममा राखिएको छैन ।

सन् २०२० देखि २०२२ सम्म तीव्र गतिका बलर सोमपाल घाइते भएको बेला टिममा अवसर पाएका कमलले उच्च प्रदर्शन गरेका थिए । कमलले २०२० मा आईसीसी विश्वकप लिग–२ मा त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए ।

उनले नेपालबाट ३ ओडीआई र १० टी–२० आई खेलेका छन् । २०२२ को टी–२० विश्वकपमा पनि कमलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २०२२ अप्रिलमा त्रिकोणात्मक टी–२० आई सिरिजमा मलेसियाविरुद्ध भएको खेलका क्रममा ड्राइभ हानेका कमलको घाँटीमुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो ।

शल्यक्रियापछि नेपाली टोलीबाट बाहिर रहेका उनले गत चैतमा आयरल्याण्ड एविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । पहिलो टी–२० खेलमा कमलले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । दोस्रो र तेस्रो खेलमा कमलले १–१ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ए लाई १५७ रनमा अल आउट गर्न कमलले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसमा ह्याट्रिक सामेल थियो । दोस्रो खेलमा कमलले १ विकेट लिएका थिए । त्यसैले वेष्टइण्डिज ए सिरिजमा कमलले मौका पाउने अनुमान थियो । तर प्रतिश, विवेकहरुलाई निरन्तरता दिएर कमललाई भने टिम बाहिर राखिएको छ ।

यसअघिकै टोलीलाई खेलाउने निर्णय हुँदा कमलले मौका नपाएको प्रमुख छनोटकर्ता दीपेन्द्रसिंह चौधरी बताउँछन् । ‘हामीले जसलाई निरन्तर विश्वास गरेका छौं, यो सिरिजमा उसलाई हटाउन कतिको ठिक हुन्छ भन्ने प्रश्न थियो’, उनले भने, ‘छनोटमा संलग्न सबैले निरन्तरतामै जाउँ भन्ने कुरा भयो । त्यसैले कमललाई अन्तिम १६ मा राख्न सकिएन ।’ अर्थात प्रतिश र विवेकलाई कुनै पनि हालतमा टिममा राखिराख्न खोजेको प्रष्ट बुझिन्छ ।

प्रमुख छनोटकर्ता चौधरीले पनि त्यसलाई स्वीकार गरे । उनका अनुसार कमललाई टिममा राख्न आकाश चन्द वा अविनाश बोहरामध्ये एकलाई बाहिर राख्नुपर्ने थियो ।

‘विश्वकप नजिक आएर १२÷१४ महिनादेखि गरेको तयारीलाई तोड्न मिल्छ वा मिल्दैन भन्ने भयो । त्यसैले कमललाई अन्तिम १६ मा ल्याउन सकिएन’, उनले भने, ‘कमलले दुई महिना अघिबाट खेलेको भए मौका पाउने सम्भावना बढी हुन्थ्यो ।’ अनलाइनखबरबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.