काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।
सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन दूतावासले अस्वीकार गरेको बताएका थिए । लगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासको फेसबुक तथा ट्वीटर (एक्स) पेजमा आलोचना भइरहेको छ । अधिकांशले आक्रोश व्यक्त गरिरहेका छन् ।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।
मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र अझै आवश्यक किसिमको सहयोग गर्ने बताएका छन्। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सन्दीपलाई अमेरिका खेल्न पठाउन परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमै अनुरोध गरेर भिसा दिलाउन लाग्नुभएको छ । आज लुम्बिनीमा एकसाथ रहेका बेला नेपालका लागि अमेरिककी राजदुतसँगपनि कुरा गरेको बुझिएको छ ।
दूतावासमा सरकारी तवरबाट प्रक्रिया अघि बढाउन कागजात तयार गरेर खेलकुद मन्त्रालय तथा नेपाल क्रिकेट संघ (क्यान) ले परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ । आज बिदा भएकाले परराष्ट्र मन्त्रालयले भोलि कार्यालय खुल्नासाथ दूतावासमा पत्र लिएर जाने स्रोतले बतायो । क्यानले बिहिबारनै खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । त्यसलगतै प्रधानमन्त्रीले पहल थाल्नुभएको थियो ।
सरकारी पक्ष सबैले गम्भीरतापूर्वक लिएको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ । आज बिहीबार सार्वजनिक बिदाका कारण अमेरिकी दूतावास बन्द छ । शुक्रबार सरकारी स्तरबाट अमेरिकी दूतावासमा प्रक्रिया अघि बढाइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले सन्दीपले भिसा पाउने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकाले किन दिएन भिसा ?
अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको विषयमा प्रतिक्रिया आउनेक्रम जारी रहेपनि अदालतको पूर्णपाठ सार्वजनिक भइनसकेको र पीडित गौशाला २६ ले सञ्चार माध्यममा पोखिरहेका पीडालाई देखेर अमेरिकी दुतावास अदालतको फैसलाको पूर्णपाठ हेर्ने मनस्थितिमा देखिन्छ । पूर्णपाठमा कस्ता आधारलाई टेकेर न्याय निरुपण गरियो भन्ने विषय निक्र्यौल नभएसम्म निर्णय गर्न हतार नगर्ने मुडमा दुतावास पुगेको बताइन्छ ।
यतिमात्रै नभई न्यायिक प्रक्रियामाथि समेत प्रश्न उठिरहेको र त्यसपछिका घटनाक्रमलाई नजिकबाट हेरिरहेको अमेरिकाले आफ्नो मुलुकमा पीडितमाथि गर्ने व्यवहार र अदालती प्रक्रियाले अन्तिम रुप नलिएसम्म निर्णय गर्न नसकिने सन्देश दिन खोजेको अर्थमा समेत लिइएको छ । दोश्रो विषय अमेरिकाले क्रिकेटरको रुपमा भन्दा पनि सामान्य व्यक्तिको रुपमा हेरेको हुनसक्छ ।
उच्चको फैसला नै अन्तिम नहुने भएकाले पूर्णपाठमा देखिएको विलम्ब र त्यसपछि सरकारी पक्षले सर्वोच्चमा गर्ने अपिलपछि त्यसको प्रभाव कस्तो पर्न सक्छ भन्ने तथ्य समेत विश्लेषण भएको बताइएको छ । यस्ता कारण सन्दीपलाई अमेरिकाले भिसा नदिएको बुझिएको छ ।
पहिले पनि पाएका थिएनन् सन्दीपले भिसा
अमेरिकी दूतावासले आजभन्दा ५ वर्ष पहिले पनि सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो । त्यो बेलाका जल्दाबल्दा खेलाडी रहेका कारण उनले ट्विटरमा पोस्ट गर्दै प्रधानमन्त्री कार्यालय र अमेरिकी दुतावासलाई मेन्सन गरेपछि दुतावासले फेरि बोलाएर भिसा दिएको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा भिसा अस्विकार भएको स्मरण सन्दिपले आज पनि गरेका छन् । तर, त्यो बेला र अहिलेको अवस्था फरक रहेकाले सन्दिपले त्यहि शैलीमा भिसा पाउने सम्भावना कम रहेको बताइन्छ ।
के भन्यो अमेरिकाले ?
अमेरिकी दुतावासले अमेरिकामा रहेको नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना समेत दिएको छ । अमेरिकी दुतावासले दूतावासले उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरिरहेको दाबी समेत गरेको छ । तर, भिसा नीति गोप्य हुने भएकाले व्यक्ति विशेषका कुरामा टिप्पणी भने नगर्ने बताएको छ ।

















