विश्वकप वार्मअप खेलमा बंगलादेशविरुद्ध भारतको फराकिलो जित

Image

काठमाडौँ । टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो ।

उसका लागि महमुदुल्लाहले ४०, शाकिवअल हसनले २८, तान्जिद हसनले १७ र तौहिद हृदयले १३ रन बनाए ।  भारतका लागि शिवम दुबे, अर्शदीप सिंहले दुई/दुई तथा जसप्रित बुहराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र अक्षर पटेलले एक/एक विकेट लिए ।

यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । ऋषभ पन्तले ३२ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५३ रन बनाए । हार्दिक  पाण्ड्याले २३ बलमा चार छक्का र दुई चौकाको सहयोगमा अविजित ४० रनको योगदान दिए ।

त्यस्तै, सूर्यकुमार यादवले ३१, कप्तान रोहित शर्माले २३ र शिवम दुबेले १४ रन जोडे । बंगलादेशका लागि मेहदी हसन, शोरिफुल इस्लाम, तनवीर इस्लाम र महमुदुल्लाहले एक/एक विकेट लिए ।

भारत यस टी-२० विश्वकपमा समुह ए मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ । त्यस्तै बंगलादेश भने समुह डी मा नेपालकै समुहमा रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।