काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । पुलिसले खेल २५-१५, २५-१२, २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै तीन खेलमा नौ अंक जोडेको पुलिसले फाइनल सम्भावनालाई बलियो बनाएको छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।
तेस्रो पराजय ब्यहोरेको डाइमेड भने अंकविहिन छ । यसअघि डाइमेडले माल्दिभ्स पुलिस क्लब तथा हुमोसँग समान ३–० को सोझो सेटमा हार ब्यहोरेको थियो । पुलिसले चौथो खेलमा बुधबार माल्दिभ्सको क्लब वाम्कोको सामना गर्नेछ ।
पुलिसले आइतबार उज्बेकिस्तानको हुमो भलिबल क्लब र सोमबारश्रीलंकाको श्रीलंका एयर फोर्सलाई यही नतिजाले पराजित गरेको थियो। योसँगै पुलिसले तीन खेलबाट ९ अंक जोडेको छ।

















