काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । अर्जुन साउद १२ बलमा ५ रन बनाएर आउट भएका हुन् ।
नेपालले ३.१ ओभरमा १ विकेटको क्षतिमा १० रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् ।
यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
दुबै कुशल र दीपेन्द्र बेन्चमा
बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ । नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ ।
नेपालको प्लेइङ–११ : अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

















