काठमाडौँ । अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ । जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले मात्र ४ विकेटको क्षतिमा पछ्यायो । अफगानिस्तानका लागि गुलाबदिन नाइबले नटआउट रहँदै ३४ रन तथा अजम्तुल्लाह ओमरजाईले नटआउट रहँदै २५ रन बनाएर टोलीलाई जित दिलाए ।
रियाज हसन र कप्तान हसमतुल्लाह शाहिदीले समान १६–१६ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि जोरन फोर्चुनले २ तथा ऐडन माक्रम र लुंगी एनगिडीले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका एक दिवसीयमा आफ्नो तेस्रो न्यून स्कोरमा समेटिएको थियो । टोली मात्र ३३.३ ओभरमा १ सय ६ रनमा अलआउट बन्न पुग्यो । यसअघि टोली सन् २००८ मा इंग्ल्याण्डविरुद्ध ८३ रन तथा सन् २०२२ मा भारतविरुद्ध ९९ रनमा अलआउट भएको थियो ।
टोलीले १० ओभरमा ७ विकेट गुमाउँदै ३६ रनको खराब स्थितिमा रहेको थियो । टोलीका लागि वियान मुल्डरले ५२ रन बनाउँदै केही आशा जगाएका थिए । फोर्चुनले १६ रन, टोनी डे जोर्जीले ११ रन तथा कायल भेरेनीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि फजहल फारुकीले ७ ओभर बलिङ गर्दै ४ विकेट लिए । उनी टोलीका लागि एक दिवसीयमा १ सय विकेट लिने तेस्रो तीव्र गतिका बलर बनेका छन् । त्यस्तै, अल्लाह मोहम्मद गाजानफरले ३ विकेट हात पारे भने रासिद खानले दुई विकेट लिए ।
यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुदै छ ।

















