काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आत्मघाती गोलबाट रियल सुरुमा पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो । रियलको मैदानमा भएको खेलको ५४औं मिनेटमा गोलकिपर थिबाउट कोर्तवाले आत्मघाती गोल गरेपछि स्पानयोलले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । ५८औं मिनेटमा रियलका लागि डानी कार्भाजलले बराबरी गोल फर्काए ।
७५औं रोड्रिगो र ७८औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि रियलले ३-१ को अग्तरा बनायो । त्यसपछि केलिएन एमबाप्पेले ९०औं मिनेटमा पेनाल्टीबाट गोल थपेका थिए ।
जितपछि ६ खेलबाट १४ अंक जोडेर रियल अंकतालिकामा दोस्रो स्थानमा छ । रियलले ४ खेल जित्दा २ खेल बराबरी खेलेको छ । रियल एक खेल कम खेलेको बार्सिलोनाभन्दा १ अंकले पछि छ । ५ खेल खेलेको बार्सिलोना शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा आसिन छ ।

















