काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको पछिल्लो वरियतामा सन्दीप ४१औं स्थानमा उक्लिएका छन् ।
अलराउन्डर वरियतामै दीपेन्द्रसिंह ऐरी ४८, कुशल मल्ल ५१, सोमपाल कामी ५३, करण केसी ७६, गुल्शन झा ९० र ललितनाराण राजवंशी ९४औं स्थानमा छन् ।
दीपेन्द्र ६ र कुशल ६ स्थान तल झर्दा सोमपालको वरियतामा कुनै परिवर्तन भएको छैन । यसैगरी करणले ११, गुल्शनले १३ र ललितले एक स्थान सुधार गरे । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नबी कायम छन् ।
यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९, कुशल भुर्तेले ८० र रोहितकुमार पौडेल ८७औं स्थानमा छन् । रोहितको वरियता यथावत रहँदा आसिफ ११ र कुशल ४ स्थान तल झरे । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा कायम छन् ।
बलिङतर्फ सन्दीप लामिछाने ४८, ललितनारायाण राजवंशी ५२, दीपेन्द्रसिंह ऐरी ६४, करण केसी ८७ र सोमपाल कामी ८८औं स्थानमा छन् । सन्दीपको वरियता यथावत रहँदा ललित २, दीपेन्द्र १ र सोमपाल १३ स्थान तल झरे । करणले भने ४ स्थान सुधार गरेका छन् ।
वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज कायम छन् । एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १ स्थान तल झरेर १७औं स्थानमा पुगेको छ । वरियताको शीर्ष स्थानमा भारत यथावत छ ।

















