स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम

Image

एजेन्सी  । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ । यो सिजन लिगमा टोलीको पहिलो हार हो । शनिबार राति भएको खेलमा बार्सा २–४ गोलले पराजित भयो ।

खेलको १८ औँ मिनेटमा एन्टे बुडिमिरले ओसासुनालाई अग्रता दिलाए । २८ औँ मिनेटमा ब्रायन जारागोजाले घरेलु टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा पाउ भिक्टरले बार्साका लागि एक गोल फर्काए पनि ७२ औँ मिनेटमा बुडिमिरले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए ।

८५ औँ मिनेटमा अबेल ब्रेटोन्सले चौथो गोल गरे । ८९ औँ मिनेटमा लमिन यामालले बार्साका लागि दोस्रो गोल गरे पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।

यसअघिका सबै सात खेल जितेको बार्सिलोनाले पराजयसँगै कुनै पनि लिग सिजनमा उत्कृष्ट सुरुवातको रेकर्ड बराबरी गर्ने अवसरबाट चुकेको छ । अब बार्साले च्याम्पियन्स लिगमा मंगलबार यङ ब्वाइजको आतिथ्य गर्नेछ । यसअघि टोली सुरुवाती खेलमा मोनाकोसँग पराजित भएको थियो ।