दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै, यस्तो छ हेड टु हेड

Image

काठमाडौं । क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको थियो ।

ओमान यो टि ट्वान्टी सिरिजको पहिलो खेल खेल्दैछ । दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् । नेपालको जितको लय हराईसकेको अवस्था छ । प्रमुख ब्याटरहरुबाट जिम्मेवार ब्याटिङको प्रदर्शन गर्न आवश्यक छ ।

क्यानडा टुरका क्रममा नेपालले खेलेका चार वटै खेलमा केही बाहेक मुख्य मानिएका ब्याटरबाट अपेक्षित प्रदर्शन हुन सकेन । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपाल र ओमान हालसम्म टि ट्वान्टी आईमा ६ पटक आमनेसामने सामने भएका छन् । जसमा समान ३ पटक जित र हार भएको छ । पछिल्लो ५ भेट मध्ये ३ खेलमा नेपाल विजयी हुँदा २ खेल ओमानले जितेको छ ।

नेपाल र ओमानबीचमा भएको पछिल्लो खेल ओमानले सुपर ओभरमा जितेको थियो। गत वर्ष आइसिसी एसिया छनोटको फाइनल खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाए पछि खेल बराबरी भएको थियो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाएपछि पराजित भएको थियो ।

यस्तै, विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा एकदिवशीय शृङ्खलापछि नेपाल, क्यानडा र ओमानबीच टी–२० शृङ्खला भइरहेको छ । नेपालले पर्सि मङ्गलवार क्यानडासँग र बुधवार ओमानसँग खेल्नेछ । नेपालले क्यानडामा खेलेका चारमध्ये तीन वटा पराजित हुँदा ओमानसँगको खेल वर्षाले रद्द भएपछि अङ्क बाँडेको थियो ।