काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ । किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई प्लेइङ ११ मा मौका दिएको छ । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।
नेपालले यसअघि दुवै टोलीसँग आइसिसी विश्वकप लिग-२ खेल खेलेको थियो। तीन खेलमा पराजित भएको नेपालको अन्तिम खेल वर्षाले रद्द भएको थियो। शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो।
क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए।
कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ।
नेपालको प्लेइङ ११ : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने र देव खनाल ।