Khabar Board

पहिलो खेलमा नामिबियामाथि युएईको सहज जित

एजेन्सी । नामिबियामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा युएईले घरेलु टोलीमाथि सहज जित हासिल गरेको छ । युएईले नामिबियामाथि ४० रनको जित निकालेको हो । जितसँगै तीन टोली सहभागी सिरिजमा २ अंकका साथ युएई शीर्ष स्थानमा छ ।

२ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र जोड्न सक्यो । नामिबियाका लागि ओपनर जेपी कोट्जेले सर्वाधिक ५५ तथा जेजे स्मिटले १९ बलमा ३८ रन जोडे ।

कप्तान ग्रहार्ड इरास्मसले १९ बलमा ३७, जान निकोल लेफ्टी इटनले २५ तथा जाय फ्रायलिंकले २० रन बनाए । युएईका लागि मोहम्मद जगदुल्लाह, अलि नासिर र बासिल हमिदले समान २ तथा बिष्नु सुकुमारन र आयान खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले २० ओभरमा २ विकेट गुमाएर २ सय ४५ रनको विशाल योगफल तयार गरेको थियो । टि ट्वान्टी आईमा युएईले बनाएको यो सबैभन्दा उच्च योगफल हो । यसअघि गएको अप्रिलमा बहराईनविरुद्ध उसले २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि ओपनरद्वय अलिसान सरफु र मोहम्मद वासिमले अर्धशतकीय ईनिङ खेल्दै पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे । सरफुले ३३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७३ तथा कप्तान वासिमले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा नट आउट ८९ रन जोडे। आसिफ खानले २२ बलमा ३९ तथा बासिल हमिदले १५ बलमा नट आउट ३७ रन बनाए । नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले २ विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.