काठमाडौं । आयरल्यान्डविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका १० रनले पराजित भएको छ । यससँगै २ खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो ।
अबुधाबीमा आइतबार आयरल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १८५ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ३२ बलमा ६ चौका र १ छक्काको मद्दतले ५१ रनको योगदान गरे । यसैगरी म्याथ्यु ब्रिटज्कीले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतले ५१ र रायन रिकिल्टनले ३६ रन बनाए ।
हेन्ड्रिक्सले दोस्रो विकेटका लागि ब्रिटज्कीसँग ७१ र पहिलो विकेटका लागि रिकिल्टनसँग ५० रनको साझेदारी गरे । आयरल्यान्डका लागि मार्क एडेयरले चार, ग्राह हुमेले ३ तथा म्याथ्यु हम्फेयर्स र बेन ह्वाइटले समान एक विकेट लिए ।
त्यसअद्धि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो।
आयरल्यान्डका लागि रोस एडेयरले ५८ बलमा ९ चौका र ५ छक्काको मद्दतले १०० रनको योगदान गरे । यसैगरी कप्तान पउल स्टर्लिङले ३१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५२ र जर्ज डकरेलले अविजित २० रन बनाए ।
पहिलो विकेटका लागि एडेयर र स्टर्लिङले १३७ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि वियान मुल्डरले २ तथा लुङ्गी एनगिडी, लिजाड विलियम्स र प्याट्रिक क्रुगरले समान १ विकेट लिए ।