काठमाडौं । युरोकप विजेता स्पेन यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा छनोट भएको छ । लिग ए अन्तर्गत ग्रुप फोरको खेलमा स्पेनले बुधबार सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनको जितमा एममेरिक लापोर्टा, अल्भारो मोराटा र एलेक्स बेनाले समान एक गोल गरे । लिग ए अन्तर्गत ग्रुप फोरकै अर्को खेलमा स्विटजरल्यान्ड र डेनमार्कले २-२ को बराबरी खेलेका छन् । यस बराबरीले डेनमार्कले भने क्वाटरफाइनल पुग्न पर्खनुपर्ने भएको छ ।
४ खेलबाट १० अंक जोडेको स्पेन ग्रुप फोरको शीर्ष स्थानमा छ । लिग ए मा चार समूह छ र हरेक समूहको शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् । सर्विया ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ७ अंक रहेको डेनमार्क दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड १ अंक जोडेर पुछारमा छ ।
स्पेनले दुई खेल बाँकी छँदै नकआउट यात्रा तय गरेको हो । स्पेनसँगै ग्रुप थ्रीबाट जर्मनी पनि क्वाटरफाइनल पुगेको छ । यस्तै लिग ए अन्तर्गत ग्रुप वानमा पोल्यान्ड र क्रोएसियाले ३-३ तथा स्कटल्यान्ड र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।
यसैगरी लिग सी अन्तर्गत ग्रुप टुमा कोसोभोले साइप्रसलाई ३-१ र रोमानियाले लिथुवानियालाई २–१ ले हरायो भने लिग सी ग्रुप थ्री मा उत्तरी आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ को बराबरी खेले ।