Khabar Board

नेपालविरुद्ध खेल्ने अस्ट्रेलियन टोली घोषणा

काठमाडौं । द हङकङ क्रिकेट सिक्सेसमा नेपालविरुद्ध खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले बुधबार ड्यानियल क्रिस्टियनको कप्तानीमा सात सदस्यीय टोली घोषणा गर्यो । कार्तिक १६ देखि १८ सम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै इङ्ल्यान्ड र अस्ट्रेलिया छन् ।

प्रतियोगितामा १२ राष्ट्रको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ, समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’मा श्रीलंका, बंगलादेश र ओमान छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । आयोजकले बुधबार खेल तालिका पनि सार्वजनिक गरेको छ । नेपालले कार्तिक १६ गते इङ्ल्यान्ड र कार्तिक १७ गते अस्ट्रेलियाको सामना गर्नेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।

अस्ट्रेलियन टोली

ड्यानियल क्रिस्टियन(कप्तान), फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक उड, साम हेजलेट, एन्ड्रु फेकिटी

के हो क्रिकेट सिक्सेस प्रतियोगिता ?

यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने छन् । प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीले ६ खेलाडी मैदान उतार्न पाउने व्यवस्था छ । यदी पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रनर राख्न पाउनेछ ।

ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ । यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.