काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएकोछ।
१३५ रनको लक्ष्य लक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा एनेक बोश ४८ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा नट आउट रहिन् । लौरा वोल्भार्ड ३७ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नट आउट रहिन् । अस्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिएकी थिइन् ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । अस्ट्रेलियाकी बेथ मुनीले ४२ बलमा २ चौकासहित सर्वाधिक ४४ रन बनाइन् । एलेस पेरीले २३ बलमा २ चौकासहित ३१, तहलिया म्याकग्राथले २७ रन बनाइन् ।
दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले २, ननकुलुलेको मलाबाले र मरिजान कापले १-१ विकेट लिइन् । दोस्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेष्टइण्डिजबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल आइतबार हुनेछ ।