काठमाडौं । इङ्ल्यान्डविरुद्ध टेस्ट शृंखलाको दोस्रो टेस्टमा पाकिस्तात १५२ रनले विजयी भएको छ । यससँगै तीन खेलको शृंखला ११ को बराबरीमा आएको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड इनिङ अन्तरले विजयी भएको थियो ।
मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको २९७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १४४ रनमै समेटियो । ३६-२ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको इङ्ल्यान्डले थप १०८ रन बनाउँदा बाँकी आठ विकेट गुमायो ।
इङ्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले ३७, ब्रेडन कार्सेले २७, ओली पोपले २२, जो रुटले १८ र ह्यारी ब्रुकले १६ रन बनाए । पाकिस्तानका लागि नोमन अलीले आठ र साजिद खानले दुई विकेट लिए ।
पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङ्ल्यान्डले २९७ रनको लक्ष्य प्राप्त गरेको थियो । पाकिस्तानका लागि सलमान आघाले ८९ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे ।
यसैगरी साउद शकिलले ३१, कम्रन गुलामले २६, मोहम्मद रिजवाजले २३, आजिद खानले अविजित २२, सइम आयुबले २२ र कप्तान सान मसुदले ११ रन बनाए । इङ्ल्यान्डका लागि सोएब बसिरले चार, ज्याक लिचले तीन, ब्रेडन कार्सेले दुई र म्याथ्यु पोट्सले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो । इङ्ल्यान्ड २९१ रनमै समेटिएपछि पाकिस्तानले ७५ रनको सामान्य अग्रता लिएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट अक्टोबर २४ देखि रावालपिन्डीमा सुरु हुनेछ ।