Khabar Board

सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै जाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आइसीसी विश्वकप लिग -२ श्रृंखलामा सहभागी हुन जाने क्रममा अमेरिकी राजदूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लामिछाने आजै बेलुकी अमेरिका उड्नेछन्। यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । जसका कारण उनले अमेरिकामा भएको टि ट्वान्टी विश्व कपको अमेरिकामा भएका खेल गुमाएका थिए।

केहि दिन अघि महान्यायाधिवक्ता कार्यालयले सन्दीप विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको थियो। सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसला यथावत रहने नियम छ। क्यानडामा भएको विश्व कप लिग टु को सिरिज खेलेर सन्दीप दशै अघि स्वदेश फर्केका थिए।

अमेरिकामा नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म आइसीसी विश्वकप लिग -२ श्रृंखला हुँदैछ। त्यसअघि सुरु भएको टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ।

डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।

अमेरिका र नेपालबीच तीन टी–ट्वेन्टी खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.