काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकपको नयाँ च्याम्पियन बन्नका लागि दक्षिण आइबार अफ्रिका र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
सेमफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई आठ विकेट र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई आठ रनले पराजित गरेका थिए । सर्वाधिक ६ पटकको अस्ट्रेलिया र एक पटकको उपाधि विजेता वेस्ट इन्डिज सेमिफाइनलबाट बाहिरिएपछि विश्वले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।
हालसम्म मात्र तीन टोलीले ट्वान्टी २० विश्वकपको उपाधि जितेका छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबाहेक इङ्ल्यान्ड एक पटक च्याम्पियन बनेको छ । न्युजिल्यान्डले १४ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००९ र सन् २०१० मा लगातार फाइनल पुगेको न्युजिल्यान्ड त्यसयता कहिल्यै सेमिफाइनलबाट माथि बढ्न सकेको थिएन ।
न्युजिल्यान्ड सोफी डेभिन तथा दक्षिण अफ्रिका लोरा उल्भर्डटको कप्तानीमा मैदान उत्रिने छन् । दक्षिण अफ्रिकाकी कप्तान लौराले सर्वाधिक १९० रन बनाएकी छिन् । दक्षिण अफ्रिकाकै ताजमिन ब्रिट्सले १७० रन बनाउँदै दोस्रो स्थानमा छिन् ।
यता न्युजिल्यान्डकी अमेलिया केर पाँच खेलमा १२ विकेट लिदै सर्वाधिक विकेकार्ताको दौडमा सबैभन्दा अगाडि छिन् । उनलाई दक्षिण अफ्रिकाकी नोन्कुलुलेको मलाबाले १० विकेटका साथ पछ्याइरहेकी छन् ।