एजेन्सी । इन्जुरी समयमा नाटकीय गोल गर्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा संघर्षरत वूल्भ्सविरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।
इन्जुरी समयको पाँचौँ मिनेटमा जोन स्टोन्सले विजयी गोल गरे । उक्त गोल सुरुमा अफसाइड करार गरेर रद्द गरिए पनि रेफ्री क्रिस काभान्हाले रिभ्यूमार्फत गोल दिएका थिए । खेलमा अग्रता भने वूल्भ्सले लिएको थियो ।
सातौँ मिनेटमा नै योर्गन स्ट्रान्ड लार्सेनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ३३ औँ मिनेटमा जोस्को ग्भार्डिओलले उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।
जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । हालसम्म अपराजित रहेको सिटीको ८ खेलबाट २० अङ्क छ । वूल्भ्स भने मात्र एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।