काठमाडौँ। साविक विजेता बङ्गलादेश र पाकिस्तानको बराबरी साफ महिला च्याम्पियनसिपमा बराबरी खेलेका छन् । समूह ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा बङ्गलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
पहिलो हाफमा अग्रता लिएको पाकिस्तानले दोस्रो हाफको अन्तिममा गोल खाएको थियो । पाकिस्तानका लागि जाहमेना मालिकले ३२औँ मिनेटमा गोल गर्नुभयो । उहाँले रमीन फरिदले दिएको लामो पासमा विपक्षी गोलरक्षकलाई विट गर्दै गोल गर्नुभएको थियो ।
त्यसपछि बङ्गलादेशले दोस्रो हाफको इन्जुरी समयमा सम्सुनाहर जुनियरको गोलमा बराबरी गरेको थियो । सम्सुनाहरले ऋतुले बायाँ साइडबाट दिएको पासमा पोस्ट छेउबाट गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।
यस बराबरीसँगै समूह ‘ए’ बाट भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ । पहिलो खेल खेलेको बङ्गलादेशले एक अङ्क बनाएको छ । दुई खेलमा पहिलो बराबरी गरेको पाकिस्तानको पनि एक अङ्क छ ।
समूहको पहिलो खेलमा पाकिस्तान भारतसँग ५–२ गोलले पराजित भएको थियो । समूहमा तीन अङ्क बनाएको भारत शीर्ष स्थानमा छ । अब भारत र बङ्गलादेशबिचको खेलले अर्को सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । च्याम्पियनसिपमा सोमबार पहिलो खेल भुटान र श्रीलङ्का तथा दोस्रो खेल आयोजक नेपाल र माल्दिभ्सबिच हुनेछ ।