Khabar Board

नेपाल आईपुगिन् सावित्रा भण्डारी ‘साम्बा’, माल्दिभ्सविरुद्ध खेल्न सम्भावना

काठमाडौं । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी मध्यराति नेपाल आइपुगेकी छिन् । काठमाडौंमा चलिरहेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ का लागि सावित्रा फ्रान्सबाट नेपाल फर्किएकी हुन् ।

एनभान गुएङ्गाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्राले फ्रान्समै रहँदा पहिलो खेलमा भुटानविरुद्ध गुमाएकी थिइन् । सोमबार समूह चरणको दोस्रो खेलका लागि भने सावित्रा उपलब्ध हुने सम्भावना रहेको छ । प्रशिक्षक राजेन्द्र तामाङले १२ घण्टाको विश्रामपछि सावित्राले चाहेको अवस्थामा खेल्न सक्ने बताएका छन् ।

सावित्राको अनुपस्थितिमा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले साफ इतिहासमै पहिलो पटक नेपालविरुद्ध हार टारेको थियो ।

यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रुपमा हाबी रहँदै आएको थियो । नेपालले साफका चार भेटमा भुटानको पोस्टमा २३ गोल गरेको थियो । जसमा सावित्रा एक्लैले ९ गोल गरेकी छन् । त्यसैले पनि नेपाली टोलीले भुटानविरुद्ध सावित्राको अभाव महसुस गरेको थियो ।

सावित्रा शनिबारसम्म पनि फ्रेन्च लिगमा व्यस्त थिइन् । शनिबार स्ट्रासवर्गविरुद्धको लिग खेलमा सावित्राले एक गोल समेत गरेकी थिइन् । स्ट्रासवर्गविरुद्ध गुएङ्गाम्पले ३–२ को जित हासिल गर्यो । यस सिजन टोलीको पहिलो जित हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.