काठमाडौँ । यतिबेला पाकिस्तानी क्रिकेट टोलीले घरेलु मैदानमा इङ्गल्यान्डसँग टेस्ट शृङ्खला खेलिरहेको छ । पाकिस्तान र इङ्गल्यान्डबिचको तीन खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।
पहिलो टेस्टमा इङ्गल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टमा भने पाकिस्तानले इङ्गल्यान्डलाई एक सय ५२ रनले पराजित गरेको थियो । पाकिस्तान र इङ्गल्यान्डबिचको तेस्रो तथा अन्तिम टेस्ट अक्टोबर २४ तारिखमा रावलपिण्डीमा सुरु हुनेछ ।
पहिलो टेस्टमा लज्जास्पद हार भोगेपछि पाकिस्तानी टोलीमा ठुलै परिवर्तन गरिएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पूर्वकप्तान बाबर आजम, तिब्रगतिका बलर साहिन शाह अफरिदी, नसिम शाहलगायतका प्रभावशाली खेलाडीलाई दोस्रो टेस्टबाट हटाएको थियो । तर, अनुभवी खेलाडीहरूलाई एकैपटक टोलीबाट बाहिर राखेको भन्दै पीसीबीको व्यापक विरोध पनि भएको थियो ।
त्यसैले पीसीबीले अनुभवी खेलाडीहरूलाई पुनः टोलीमा समावेश गर्ने संकेत दिएको छ । इङ्ल्यान्डविरुद्धको शृङ्खला सकिएपछि पाकिस्तानी टोली अस्ट्रेलिया भ्रमणमा निस्किने छ । अस्ट्रेलिया भ्रमणका क्रममा पाकिस्तानी टोलीले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ ।
पाकिस्तान र अस्ट्रेलियाबिचको तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला नोभेम्बर ४ तारिखमा सुरु हुनेछ । त्यही शृङ्खलाका लागि अनुभवी खेलाडीहरूलाई टोलीमा फर्काउने तयारी पीसीबीले गरेको हो ।
पीसीबी स्रोतका अनुसार, अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई कप्तान बनाइने छ । यसैगरी, अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खलाका लागि घोषित टोलीमा बाबर आजम, साहिन शाह अफरिदी र नसिम शाहलाई पनि टोलीमा समावेश गर्ने सहमति भएको पीसीबी स्रोतले जनाएको छ ।
पीसीबी स्रोतका अनुसार, अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खलाका लागि तीन अनुभवी खेलाडी इफ्तिखार अहमद, शादाब खान र फाखर जमानलाई भने टोलीमा समावेश गरिने छैन । स्मरण रहोस, फाखर जमानले केही दिनअघि पूर्वकप्तान बाबर आजमको समर्थनमा सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए ।
उनले बाबरलाई टोलीबाट हटाइनु गलत भएको बताएका थिए । फाखर जमानको यस्तो पोस्ट सार्वजनिक भएपछि पीसीबीले उनीसँग स्पष्टीकरण पनि सोधेको थियो । सोही कारणले उनलाई अस्ट्रेलिया भ्रमणबाट हटाउन खोजिएको दाबी समाचारमा गरिएको छ ।
यसैगरी, अस्ट्रेलिया भ्रमणका लागि टोलीमा दुई नयाँ खेलाडीलाई पनि स्थान दिइने बताइएको छ । नयाँ खेलाडीका रुपमा मेहरान मुम्ताज र सुफियान मुकिमलाई टोलीमा समावेश गरिने सम्भावना छ ।