नेपालले बलियो प्रतिद्धन्दी जापानको सामना गर्दै

Image

काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजदेखि कतारमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो ।

खेल कतारको दोहास्थित  हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ। नेपाल र जापान समूह ‘एफ’मा छन्। आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ ।

एएफसी यु-१७ एसियन कप चारपटक जितिसकेको जापान नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो । त्यसैले नेपाल यु-१७ फुटबल टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पनि जापानविरुद्धको खेल एक्सपोजरका लागि अवसर हुने बताएका छन् ।

श्रेष्ठले प्रि-म्याच प्रेस कन्फेरेन्समा छनोटका लागि आफ्नो टिमले राम्रो तयारी गरेको र जापानसँग खेल्न तयार रहेको बताएका छन् । ‘जापानसँग पहिलो खेल छ । जापान डिफेण्डिङ च्याम्पियन हो । हामीले यसका लागि राम्रो तयारी गरेका छौं र हामी राम्रो प्रदर्शन दिनेछौँ,’ श्रेष्ठले भने, ‘जापानसँग खेलेर हाम्रो खेलाडीले ठूलो एक्सपोजर पाउनेछ ।’

जापान प्रतियोगिताको सबैभन्दा ससफल टोली हो। यो टोलीले १९९४, २००६, २०१८ र २०२३ मा गरी चारपल्ट उपाधि जितसकेको छ। २०१२ मा उपविजेता बनेको टोलीले २००८, २०१० र २०१६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

नेपालले गत महिना भुटानमा भएको साफ यु–१७ च्याम्पियनसिप खेलेको थियो। सेमिफाइनलमा भारतसँग ४-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपालले एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। नेपालले समूहको दोस्रो खेल शुक्रबार आयोजक कतार र तेस्रो खेल आइतबार मंगोलियासँग खेल्नेछ ।