काठमाडौँ । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । साविक उपविजेता भारतलाई पछि पार्दै समूह विजेतका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो । यो जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि बन्यो ।
भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्दा २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणमा रहेर प्रतियोगिताबाट बाहिरियो। दुबै टिमले पहिलो हाफमा गोल गरेपनि दोस्रो हाफमा गोल गर्न असफल भए ।
साविक विजेताको जितमा तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गर्दा भारतका लागि बाला देवीले एकमात्र गोल गर्न सफल भइन् । बङ्गलादेशले १८औं मिनेटमा कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा खान्दाकर नजिकै ड्रप हुँदा उनले सहज गोल गरिन् ।
२९ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । बायाँ विंगबाट ऋतुको क्रसमा गोलरक्षक पान्थोइ चानुले बल रोक्न नसक्दा तोहुराले गोल गर्दा भारत २-० ले पछि परेको थियो । ४३ औं मिनेटमा बंगलादेशले तोहुराको उत्कृष्ट गोलमा बंगलादेशले अग्रता फराकिलो पार्यो । साम्सुनाहरले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई तोहुराले हाफ भलीमा सट लिँदै सुन्दर गोल गरिन् ।
त्यसको एक मिनेट नबित्दै भारतले गोल फर्काएपनि समूह विजेताका लागि पर्याप्त भएन। डालीमा छिब्बरले दायाँ विंगबाट दिएको क्रस रुपना चक्माको हातबाट फुस्किएपछि बाला देवीले बललाई भुइँमा खस्न नदिई बललाई पोस्टको दिशा दिएकी थिइन् । दोस्रो हाफमा दुबै तर्फबाट थप गोल हुन सकेन् ।