काठमाडौं । एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपाल बलियो प्रतिद्वन्द्वी जापानसँग पराजित भएको छ । कतारको दोहास्थित हमाद बिन खलिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल ९–२ गोलले पराजित भएको हो । खेलमा अग्रता बने नेपालले लिएको थियो ।
१२ औँ मिनेटमा सविन कुमार मगरले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि जापानले नेपालमाथि गोल वर्षा गर्यो । जापानका लागि दाइची तानीले ४ गोल तथा हिरोतो असादाले ३ गोल गरे । मिबुकी कासाई र काइजी चोनानले एक–एक गोल थपे । खेलको अन्त्यतिर विज्ञान खड्काले सान्त्वना गोल गरे ।
नेपाल र जापान छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन् । यो समूहमा आयोजक कतार र मंगोलिया पनि छन् । समूह ‘एफ’ अन्तर्गतको सम्पूर्ण खेल कतारमै खेलिने छ । नेपालको तुलनामा जापान निकै बलियो टोली हो ।
जापान एएफसी यू–१७ एसियन कपको साबिक विजेता पनि हो । सन् २०२३ मा सम्पन्न यू–१७ एसियन कपको फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो । त्योभन्दा अघिल्लो संस्करणको उपाधि पनि जापानले नै जितेको थियो । जापानले हालसम्म चारपटक यू–१७ एसियन कपको उपाधि चुमिसकेको छ ।
जापानी टोली एकपटक ९सन् २०१२० उपविजेता पनि बनेको थियो । त्यो संस्करणको फाइनलमा उज्बेकिस्तानले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि हात पारेको थियो ।
नेपालले भने हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ । तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।