जनकपुरले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम

Image

काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग एनपीएल खेल्न आउने भएका छन् । उनलाई जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जनकपुरले बिहीबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जनाएको छ ।

एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् । ३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् । उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।

सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए । निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए । निसमको आगमनपछि जनकपुर बोल्ट्सको टिम उत्साहित छ ।

विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनोज कटुवाल प्रशिक्षक र बरदान चालिसे क्रिकेट डिरेक्टरको रुपमा छन् ।