भैरहवा । बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही ११ प्रतिस्पर्धा गर्ने भएका छन् ।
भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई तथा नेक्ससले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गरे । फाइनल शनिबार दिउँसो १२ः ३० बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा भारतको लाइफ केयरले जावेद गोहरलाई १५६ रनले पराजित गर्यो।
लाइफ केयरले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको जावेद गोहर १५.४ ओभरमा ९१ रनमै समेटियो । जावेद गोहरका लागि अली हुसेनले ४२, रिशिभ जोशीले २३ र मोहम्मद इस्तियाकले १५ रन बनाए ।
लाइफ केयरका लागि क्षितिज त्रिपाठी चार कप्तान योगेश कुमारले तीन तथा राजेश शर्माले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४७ रनको योगफल तयार पारेको थियो।
लाइफ केयरका लागि दीपक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतले १०० रन बनाए । यसैगरी दिपांशु फोरेले ६५ तथा विपुल कम्बोजले २९ रन बनाए । जावेद गोहरका लागि मोहम्मद इस्तियाकले चार तथा रिशिभ जोशीले एक विकेट लिए । दोश्रो सेसिमफाइनलमा स्थानीय टिम नेक्ससले बंगलादेशको साइक क्रिकेटर्सलाई आठ विकेटले पराजित गर्यो ।
साइक क्रिकेटर्सले प्रस्तुत गरेको को ८९ रनको लक्ष्य नेक्ससले ११.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेक्ससका लागि शंकर रानाले ४० र कप्तान विपिन विक्रम शाहीले अविजित १५ रन बनाए । साइक क्रिकेटर्सका लागि एकेएस र सहदत रहमानले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक क्रिकेटर्सले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको थियो । साइक क्रिकेटर्सका लागि एकेएसले २७, सौरबले १३ र सिफद सदेकले १२ रन बनाए । नेक्ससका लागि बसिर अहमदले तीन, दिपेश कँडेल र शाहब आलमले समान दुई तथा दुर्गेश गुप्त र दिनेश अधिकारीले समान एक विकेट लिए ।