काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले दोस्रो विदेशी खेलाडीका रूपमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसलाई अनुबन्ध गरेको छ ।
काठमाडौंले सामाजिक सञ्जालमार्फत २९ वर्षीय अलराउन्डर इरास्मलाई भित्र्याएको जानकारी दियो । इरास्मसले नामिबियाका लागि ६५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा एक शतक र ११ अर्धशतकसहित १ हजार ५५७ रन बनाएका छन् । उनको नाममा ५३ विकेट पनि छ ।
यसअघि टोलीले नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई भित्र्याएको थियो । काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।