मियामीको जितमा स्वारेज र अल्वाको गोल

Image

काठमाडौं । अमेरिकी मेजर लिग सकरअन्तर्गत प्लेअफ खेलमा इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई २–१ ले हराएको छ । शनिबार बिहान भएको खेलमा इन्टर मियामीलाई जिताउन लुइस स्वारेज र जोर्डी अल्वाले समान एक गोल गरे ।

एन्टलान्टाको लागि साबा लोब्जानिड्जले एक गोल फर्काए । अब, दोस्रो लेग नोभेम्बर ३ मा हुनेछ । खेलको दोस्रो मिनेटमै स्वारेजको गोलमा मियामीले अग्रता बनायो ।

डिअगो गोमेजले मिलाएको सुन्दर पासमा बक्स भित्रबाट स्वारेजले गोल गरेका हुन् । ३९औं मिनेटमा साबाले गोल गर्दा पहिलो हाफ १–१ को अन्तरमा टुंगियो ।

खेलको ६०औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा अल्वाले गोल गरे । मेसीले मिलाएको पासलाई अल्वाले बक्सबाहिरबाट प्रभावशाली गोल गरेका हुन् । मियामी मेजर लिग सकरमा शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो ।