काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।
यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । लिग–२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो ।
नेपालले आफ्नो पहिलो खेल आइतबार आयोजक अमेरिकासँग खेल्नेछ । आगामी बिहीबार नेपालले स्कटल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्नेछ । शृङ्खलामा अक्टोबर ३१ तारिखमा स्कटल्यान्ड र अमेरिकाबिच खेल हुनेछ ।
यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ ।
लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अंग होइन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरुबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले खेल्न लागेको भने यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुबै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।
लिग–२ शृंखलाको अंक तालिकामा नेपालको अवस्था दयनीय देखिन्छ । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । क्यानडाले आठ जित र चार हारको नतिजा निकालेको छ ।
आठ खेल खेलेको नेपाल तीन अंकसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ ।
नेपाली टोली ६ खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अंकसहित आठौँ स्थानमा छ । यूएईले एक जित र ६ हारको नतिजा निकालेको छ ।
नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी ।